सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजी बजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ ।

साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ ।

यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता शेयर कारोबार भएको छ । आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो ।

मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता शेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ ।