ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दशैंअघि निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गना दिने तयारी भइरहेको बताएका छन्।

आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा रहेको र निजी कम्पनीलाई आशयपत्र तथा असहमति पत्र जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठले राष्ट्रिय आवश्यकता, प्राथमिकता, आर्थिक प्रभाव र राज्यको वित्तीय दायित्वका आधारमा नयाँ मापदण्ड प्रयोग गरी रोकिएका विद्युत खरिद सम्झौता (पीपीए) पुनः सुरु गर्ने तयारी भएको पनि बताए। ४,५४०.४७ मेगावाट क्षमताका २७ वटा जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन म्याद थपिएको छ।

विद्युत उत्पादन अनुमतिपत्रलाई थप पारदर्शी बनाउने र अनुमतिपत्र व्यापार तथा अनियमितताको चिन्ता घटाउने काम भइरहेको उनले उल्लेख गरे। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भइसकेको छ भने जलस्रोत विधेयक मन्त्रिपरिषद्मा पेस गरिएको छ। दशैंपछि ४०० केभी हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको हेटौंडा खण्ड चार्ज गर्ने तयारी पनि भइरहेको छ।