नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि हिजो (मंगलबार) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।