जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ।
कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्न नगराउन सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ।
दिपावलीको अवसरमा देउसी भैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले बेलुका नौ बजेसम्म मात्रै गर्न र कुनै गुनासो नआउने गरी मात्र खेल्ने व्यवस्था मिलाउन सूचनामा अनुरोध गरिएको छ।
‘सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन। सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन,’ सूचनामा भनिएको छ।






