जापानले म्याग्दीमा अदुवा र टिमुर प्रशोधन केन्द्र निर्माण तथा मर्मतका लागि ४३,१७५ अमेरिकी डलर (करिब ६६ लाख रुपैयाँ) अनुदान सहयोग गरेको छ।
यो आयोजना जापानको ग्रासरुट्स प्रोजेक्ट अनुदान सहायताअन्तर्गत लीड्स नेपालमार्फत कार्यान्वयन हुनेछ। बेनी नगरपालिकाको एक सहकारीका करिब ६०० महिला किसानलाई यसबाट फाइदा पुग्ने अपेक्षा गरिएको छ।
आधुनिक उपकरण जडान र प्रशोधन सुविधा सुधार गरी उच्च मूल्यका उत्पादन बनाउन सहयोग पुर्याउने यो पहलले आय वृद्धि, जीविकोपार्जन सुदृढीकरण, दिगो ग्रामीण विकास र महिला आर्थिक सशक्तीकरणमा योगदान दिने लक्ष्य राखेको छ।






