कागजात जालसाजीको शिकार भएर निर्वासन र जरिवानाको सामना गरिरहेका करिब २,००० नेपालीलाई पोर्चुगल सरकारले ठूलो राहत दिएको छ।
पोर्चुगलको इंटिग्रेसन, माइग्रेसन एन्ड एसाइलम एजेन्सी (AIMA) ले प्रभावित नेपालीहरूलाई अस्थायी बसोबास कार्ड (TRC) का लागि आवेदन दिन अनुमति दिएको हो। उनीहरू मध्यस्थकर्ताहरूबाट ठगिएका र नक्कली कागजातमा आफैं संलग्न नभएको ठहर गर्दै यो निर्णय गरिएको हो।
नेपाल प्रहरीबाट जारी भएको वास्तविक पुलिस क्लियरेन्स प्रमाणपत्रमा भारतीय राजधानी नयाँ दिल्लीस्थित पोर्चुगाली दूतावास र नेपाली अधिकारीहरूको नक्कली छाप लगाएर ठगी भएको थियो। नेपाली दूतावासले १,७६० जनाको उजुरी दर्ता गरेर मानवीय आधारमा समाधान खोजेको थियो।
नेपाली राजदूत प्रकाश मणि पौडेलले यो निर्णयले प्रभावित सबै नेपालीलाई कानुनी रूपमा बसोबास र काम गर्ने अवसर प्राप्त भएको बताएका छन्।
यो निर्णयले पोर्चुगलमा रहेका हजारौं नेपाली कामदारलाई ठूलो राहत मिलेको छ।