काठमाण्डौ – नवलपरासी पूर्वमा अविरल वर्षापछि विनयी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडकखण्ड पुनः बन्द भएको छ। गएराति डाइभर्सन बगाउँदा काठमाण्डौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको यात्रुवाहक बस पनि बगेको भए तापनि यात्रुहरूलाई समयमै उद्धार गरिएको प्रहरीले जनाएको छ। केही समय एकतर्फी सञ्चालनमा आएको सडक अहिले पूर्ण रूपमा ठप्प छ।

दाउन्ने र दुम्कीबास आसपासको क्षेत्रमा वर्षा सुरु हुनासाथ सडक सतह हिलो र चिप्लो हुने भएकाले दुर्घटनाको जोखिम अझै बढिरहेको छ। यस्तो अवस्थामा जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। पूर्व–पश्चिम यात्रा गर्ने सवारीसाधनलाई नारायणगढ–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल तथा त्यसको विपरीत दिशाबाट आउने गाडीहरूलाई उही मार्ग प्रयोग गर्न भनिएको छ। साना सवारीहरूलाई आवश्यक सावधानीका साथ गैँडाकोट–पिपलडाँडा मार्ग प्रयोग गर्न पनि सुझाव दिइएको छ।

यसैबीच, सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोका कारण बन्द भएको अरनिको राजमार्ग अझै खुल्न सकेको छैन भने डोल्पाको त्रिपुरासुन्दरी क्षेत्रमा भेरी करिडोर अन्तर्गतको सडक पनि बाढीले ठप्प बनाएको छ।