बाग्लुङ – ढोरपाटन नगरपालिका–५ अस्तु नजिक यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य १४ जना घाइते भएका छन्।

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ गइरहेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप शुक्रबार बेलुकी दुर्घटनामा परेको हो। जीपमा चालकसहित १६ जना सवार थिए।

ज्यान गुमाउनेमा ढोरपाटन नगरपालिका–२ निवासी ७० वर्षीय नरबहादुर कार्की र ७५ वर्षीया भीमकुमारी बुढा रहेका छन्।

दुर्घटनामा घाइते भएका २७ वर्षीय चालक गोविन्द थापा सहित अन्य यात्रुहरूको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।