काठमाण्डौ — वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तिम चरणमा पुगेको छ। लगनखेलबाट तानिएको रथ हिजो साँझ जावलाखेल पुर्याइएको छ, जससँगै आइतवार (पर्सि) भव्य भोटोजात्रा आयोजना हुने भएको छ।
परम्पराअनुसार, रथ जावलाखेल ल्याइएको चौथो दिनमा भोटो देखाउने चलन रहेको छ। यो वर्षको जात्रामा पनि सोही परम्परा पालना हुँदैछ। भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखी बुङ्गमतीस्थित मूल स्थानमा लगिनेछ भने मीननाथको रथयात्रा टङ्गलतर्फ लाग्नेछ।
सदियौंदेखि काठमाण्डौ उपत्यकामा मनाइँदै आएको रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो धार्मिक जात्रा मानिन्छ, जसले वर्षा, उर्बरता र समृद्धिको कामना गर्ने जनविश्वास बोकेको छ।






