काठमाण्डौ – नयाँ आर्थिक वर्षको बजेट वक्तव्यप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ। उद्योगी तथा व्यवसायीहरूले सरकारले बजेटमार्फत निजी क्षेत्रका बहुसंख्यक माग तथा सुझावलाई समेटेर उनीहरूको आत्मविश्वास बढाएको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी प्रवर्द्धन, खनिज स्रोतको उपयोग र लगानी बोर्ड सशक्तीकरण जस्ता महासङ्घका प्रमुख सिफारिसलाई समेटेको बताए। “निजी क्षेत्रलाई अघि बढाउने उद्देश्यसहित बजेट आएको छ,” उहाँले प्रतिक्रिया दिनुभयो।

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेटलाई महत्त्वाकांक्षी बताउँदै, “स्रोतको बाँडफाँट सन्तुलित छ, राजस्व सङ्कलनको प्रक्षेपण पनि यथार्थपरक देखिन्छ,” भन्नुभयो।

लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले अहिलेको आर्थिक चुनौतीबीच निजी क्षेत्रको सल्लाहलाई सरकारको प्राथमिकतामा राखिएको बताएका छन्। उहाँले भन्नुभयो, “बजेट उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित छ र सकारात्मक सोच झल्किन्छ।”

नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले “विदेशमा लगानी गर्ने सुविधा खुलाउनु निजी क्षेत्रको दीर्घकालीन माग थियो, जुन अब पूरा भएको छ” भन्दै सन्तोष व्यक्त गर्नुभयो।

चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले आईटी क्षेत्रलाई पनि प्राथमिकता दिएको र दीर्घकालीन दृष्टिकोणमा केन्द्रित रहेको प्रतिक्रिया दिनुभयो, यद्यपि राजस्व सङ्कलनमा चुनौती रहन सक्ने सम्भावना पनि औंल्याउनुभयो।