काठमाण्डौ – आज विभिन्न स्थानमा प्रदर्शनको तयारी भएकोले ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा विरोध र्याली आयोजना गर्न अनुमति प्राप्त गरेको छ भने शिक्षक, सहकारी र लघुवित्त पीडितले पनि आफ्ना प्रदर्शनहरू जारी राखेका छन्।
प्रदर्शनका कारण गाडीको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विभिन्न स्थानमा डाइभर्सनको व्यवस्था गरेको छ। बल्खुमा राप्रपाको प्रदर्शनको कारण खसीबजार–मकालु–कलङ्की चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, र कीर्तिपुर–सुन्दरीघाट–सानेपा–एकान्तकुना मार्गमा डाइभर्सन तोकिएको छ।
सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र पार्किङका लागि टीयू गेट, चोभार, सानेपा र नयाँबसपार्कमा व्यवस्था मिलाइएको छ। साथै, माइतीघर र शान्तिबाटीकामा पनि डाइभर्सनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।






