काठमाण्डौ – मौसमविद्हरूका अनुसार, काठमाण्डौ उपत्यका र देशका विभिन्न स्थानमा आजदेखि तीनदेखि चार दिनसम्म हल्का वर्षा हुने सम्भावना रहेको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले, साथै पश्चिमी वायु र स्थानीय हावाको मिश्रणले मौसमको परिवर्तन गराउने जनाइएको छ।

मौसमविद् शान्ति कँडेलले काठमाण्डौमा आज दिउँसो हल्का पानी पर्ने र यसले वायु प्रदूषणमा कमी ल्याउन मद्दत गर्ने बताउनुभयो। यससँगै छिटपुट वर्षासँगै हावाहुरीको सम्भावना पनि देखिएको छ, जसले प्रदूषणको स्तर घटाउने अनुमान गरिएको छ।

हाल काठमाण्डौ विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा रहेको छ। आईक्यू एअरका अनुसार काठमाण्डौको वायु गुणवत्ता सूचकांक (AQI) २४६ छ, जुन “अति अस्वस्थ” मानिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मौसमको परिवर्तन र हल्का वर्षाको सम्भावना रहेको छ।