काठमाण्डौ – वरिष्ठ पत्रकार तथा पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ।
केही दिनअघि घरमा लडेर चोटपटक लागेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा हिजो उहाँको निधन भएको हो।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइरालाले दक्षिण कोरियामा नेपाली राजदूतको रूपमा सेवा गर्नुभएको थियो। उहाँ एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने कोइराला परिवारका सदस्य हुनुहुन्थ्यो र विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गर्नुभएको थियो।
पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।






