नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको गगन थापा नेतृत्वको समूहलाई पार्टीको वैधानिकता दिने निर्णयलाई असंवैधानिक, पक्षपाती र दुराशयपूर्ण भन्दै औपचारिक रूपमा अस्वीकार गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आयोगको फैसला संविधान, कानुन र पार्टी विधानविपरीत भएको निष्कर्ष निकालेको छ। यो निर्णयले लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर चुनौती थपेको उनीहरूको भनाइ छ।

नेता डा. प्रकाशशरण महतले बैठकपछि घोषणा गर्दै भने, “हामीले भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने छौं। सानेपा कार्यालय खाली गर्ने कुनै प्रश्नै आउँदैन। आयोगको कदमविरुद्ध कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्नेछौं।”

देउवा पक्षले आफूलाई पार्टीको वैधानिक समिति दाबी गर्दै आयोगको निर्णयविरुद्ध कडा संघर्ष गर्ने स्पष्ट पारेको छ। यो विवादले नेपाली कांग्रेसमा थप विभाजन निम्त्याउने देखिएको छ।