अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ बुधबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघात सम्बन्धी अन्तक्र्रिया तथा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा अस्पतालका डाक्टर, नर्स र कर्मचारीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मस्तिष्कघात सचेतनासम्बन्धी विभिन्न खालका प्रश्नहरु सोधिएको थियो ।
ग्राण्डी अस्पतालले मस्तिष्कघातको क्षेत्रमा सफल उपचार गरेवापत भर्खरै विश्व स्ट्रोक सङ्गठनबाट ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता समेत प्राप्त गरेको छ । ग्राण्डी अस्पताल ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्राप्त गर्ने नेपालको पहिलो अस्पताल हो ।
नेपालमा प्रत्येक १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ । नेपाल मस्तिष्कघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने र १० मीनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको हो ।

नेपाल मस्तिष्कघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेलले नेपालमा प्रत्येक १० मीनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताए ।






