काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडमार्फत ऋण सहज गरिदिने नाममा घुस लिएको प्रमाण भेटिएको आयोगको भनाइ छ।
रुपन्देहीको बेलहियास्थित भुसाल हस्पिटालिटी परियोजनाबाट १ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको ऋण प्रक्रियामा सहयोग गर्ने सर्तमा अधिकारीले १९ लाख रुपैयाँ लिएको पाइएपछि उनीसहित नसिब अन्सारी, अमृत, अङ्कित र बालकृष्ण भुसालविरुद्ध मुद्दा दर्ता गरिएको हो।
त्यस्तै, तनहुँस्थित अकला देवी ट्रेडर्ससँग ५० लाख रुपैयाँ घुस मागिएको उजागर भएपछि दोस्रो मुद्दा दर्ता गरिएको छ, जसमा नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र खुस नसिब अन्सारी पनि प्रतिवादी छन्।
तेस्रो मुद्दा भने काठमाडौंको हिमाल तराई कन्स्ट्रक्सन प्रालिको ऋण सहजीकरण सन्दर्भमा पाँच लाख रुपैयाँ लिएको आरोपमा डा. अधिकारी र रमेश आचार्यविरुद्ध दायर गरिएको छ।






