काठमाण्डौ – तनहुँको व्यास नगरपालिका–३ र ५ लाई जोड्ने मादी नदीको पुलमा गएराति एक गम्भीर दुर्घटना भएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप मध्यराति करिब १२ बजे पुलको रेलिङ तोडेर नदीमा खस्दा तीन जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार, दुर्घटनामा ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरू सबै व्यास–५ का बासिन्दा हुन्।
जीपमा सवार अन्य दुई जना — चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते छन्। रौनिहारलाई प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने चालक गुट्टाको उपचार दमौली अस्पतालमै भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






