काठमाडौं – गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि पक्राउ गरी सोधपुछपछि बयानका लागि उपस्थित हुने सर्तमा रिहा गरेको छ। भिजिट भिसाको नाममा मानव तस्करीमा संलग्न व्यक्तिसँग मिलेमतो गरेको आशंकामा उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको थियो। आयोगले राति कागज गराएर उनलाई बिहीबार उपस्थित हुने निर्देशनसहित छाडेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मङ्गलवार मात्र गृह मन्त्रालयमा तानिएको थियो। उनी पक्राउ पर्नुअघि नै अख्तियारले अध्यागमन कार्यालयबाट कम्प्युटर र अन्य डिजिटल सामग्री तथा कागजातहरू संकलन गरिसकेको थियो।