काठमाण्डौ – काठमाण्डौ उपत्यामा भित्रिने प्रमुख मार्गमध्ये एक नागढुङ्गा–नौबिसे सडकखण्ड आगामी १५ दिनसम्म दिउँसोका समयमा बन्द गरिने भएको छ। निर्माण कार्यलाई तीव्र बनाउन जेठ १० देखि २५ गतेसम्म प्रत्येक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक अवरुद्ध रहने छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, नागढुङ्गा–पिपलामोड सडक विस्तारका लागि यो कदम चालिएको हो। यसअघि रातको समयमा सञ्चालन हुँदै आएको कामलाई प्राविधिक कारणले दिनको समयमा सारिएको छ। यात्रुहरूको सहजताका लागि वैकल्पिक रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। यातायातका साधनहरूलाई नागढुङ्गा र खानीखोलामा रोक्ने व्यवस्था गरिएको जानकारी नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) मार्फत दिइएको छ।