काठमाडौँ – देशको पछिल्लो राजनीतिक परिस्थिति र सरकार सञ्चालनको विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच गम्भीर छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले हालको सरकार सञ्चालनमा कुनै गम्भीर समस्या नरहेको निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सरकारको नेतृत्व र कार्यशैलीमा बाहिर जस्तो मतभेद नभएको प्रस्ट पार्नुभयो। उहाँका अनुसार, कांग्रेस र एमालेबीच सत्तासञ्चालनको समन्वयमा कुनै बाधा नरहेको र बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
बैठकमा सरकारको कार्यसम्पादन, गठबन्धनभित्र उठेका चासोहरू, र विभिन्न नीति-निर्णयमाथि आन्तरिक छलफल भएको थियो। गृहमन्त्रीले शिक्षकहरूको माग तत्काल सम्बोधन गर्ने दिशामा सरकार प्रतिवद्ध रहेको बताउँदै संसदको आगामी अधिवेशनमा शिक्षासम्बन्धी विधेयक अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।






