काठमाडौँ – आन्दोलनरत शिक्षकका मागहरूप्रति संवेदनशील रहेको बताउँदै सरकार ती मागहरू सम्बोधन गर्न तयार भएको जनाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकसँग भएका अघिल्ला सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै शिक्षकलाई विद्यालय फर्कन आग्रह गरेको छ।
बैठकपछिको जानकारी दिने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि सरकारले संवादलाई प्राथमिकता दिएको बताउनुभयो। “संवाद प्रक्रियामा सरकार गम्भीर र संवेदनशील छ,” मन्त्री भट्टराईले भन्नुभयो।
सरकारको ध्यान अहिले विद्यार्थी भर्ना, कक्षा १० (एसईई) को उत्तरपुस्तिका परीक्षण, र कक्षा १२ को राष्ट्रिय परीक्षा कार्यतालिकातर्फ पनि केन्द्रित भएको छ। यिनै कारणले गर्दा आन्दोलनका कार्यक्रमहरू स्थगन गरी शिक्षकहरूलाई पुनः कार्यथलोमा फर्किन मन्त्रिपरिषद्ले अनुरोध गरेको हो।
बैठकले शिक्षकका माग सम्बोधनका लागि आवश्यक परेमा संसद्को अधिवेशनसमेत बोलाउने निर्णय गरेको जनाइएको छ।






