काठमाडौँ – आजदेखि विक्रम संवत् २०८२ को सुरुवात भएको छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई देशभर उल्लासपूर्वक मनाइँदैछ, जहाँ शुभकामनाको आदानप्रदान, सांस्कृतिक र धार्मिक गतिविधिहरूले दिनलाई विशेष बनाएको छ।
आजको दिन सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले ‘मेष सङ्क्रान्ति’ का रूपमा पनि चिनिन्छ। यही दिन नयाँ वर्षको आरम्भ पनि भएकाले यसलाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष मानिन्छ।
नेपाली समाजमा वैशाख १ गते केवल पात्रोको नयाँ पाना मात्र होइन, आत्मसमीक्षा, संकल्प र नयाँ शुरुवातको प्रतीक पनि हो। अघिल्लो साँझदेखि नै परिवार, साथीभाइसँग रमाइलो गर्ने, भोलिपल्ट बिहानै स्नान गरेर घर सफा गर्ने र मन्दिर जानु, पूजापाठ गर्नु आजको दिनको परम्परा हो।
धेरैले आजका दिन विगत वर्षका उपलब्धि र कमजोरीको मूल्याङ्कन गर्दै नयाँ योजनासहित आत्मसुधारको यात्रा सुरु गर्छन्। नयाँ लक्ष्य, नयाँ ऊर्जा र नयाँ सोचसहित कर्मक्षेत्रमा अघि बढ्ने प्रतिबद्धताको दिन हो आज।






