काठमाण्डौ – शनिबारको झडपपछि लगाइएको कर्फ्यू हटाइएको छ, तर पूर्ण सामान्य अवस्था नफर्किएकाले चारवटा मुख्य नाकामा निषेधाज्ञा यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, शान्ति सुरक्षा अवस्था क्रमिक रूपमा सुधार हुँदै गएकाले आइतबार राति १२ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू हटाइएको हो। सबै सरोकारवालासँगको छलफलपछि यस्तो निर्णयमा पुगिएको उनले बताए।
यद्यपि, स्थिति पूर्ण रूपमा सामान्य नभएकाले सावधानी स्वरूप वीरगञ्ज महानगरका चार मुख्य नाका — पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक, र दक्षिणतर्फ शङ्कराचार्य गेट — मा अर्को आदेश जारी नहुन्जेलसम्म कुनै पनि किसिमका भेला, सभा, जुलुस वा प्रदर्शन निषेध गरिएको छ।
शनिबार दुई समूहबीचको झडपपछि प्रशासनले आपतकालीन सुरक्षा उपायस्वरूप कर्फ्यू जारी गरेको थियो।






