डाइभर्सन पुनःनिर्माणपछि नारायणगढ–बुटवल सडक सुचारु, यात्रुहरूमा सहजता

नवलपरासी  बाढीले बगाएको डाइभर्सन पुनर्निर्माण गरिएपछि पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड पुनः सञ्चालनमा आएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा आएको आकस्मिक बाढीले अस्थायी डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको सडक शुक्रबार राति ९ बजेदेखि एकतर्फी रूपमा खुलाइएको हो।

जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, बाढीले बगाएको डाइभर्सनलाई मर्मत गरी अस्थायी आवागमनको व्यवस्था गरिएको हो। गत पुस २६ गते ठूलो भारतीय ट्रकको भारले विनयी खोलाको स्थायी पुल भाँचिएपछि वैकल्पिक रूपमा बनाइएको डाइभर्सन हालसम्मकै भरपर्दो मार्ग बन्दै आएको थियो। तर हालको अविरल वर्षापछि बाढीले यसलाई समेत क्षति पु¥याएपछि सयौं सवारीसाधन र यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

यसैबीच, अत्यावश्यक सवारीसाधनलाई होङ्सी सिमेन्ट उद्योग हुँदै वैकल्पिक बाटो प्रयोग गराइएको थियो। दाउन्ने क्षेत्रमा भइरहेको सडक विस्तार कार्यलाई पनि वर्षाले प्रभावित बनाएको छ। बिहीबार परेको वर्षापछि सडक हिलोमय बनेको र हिलो हटाएर आवागमन केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो।

साथै, क्षेत्रको मर्मत तथा विस्तारलाई प्रभावकारी बनाउन बुधवारदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम भइरहेको छ भने वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर निर्माण कार्यलाई तीव्रता दिने योजना रहेको छ।