काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको माग र जारी आन्दोलनको विषयमा सम्बन्धित मन्त्री तथा सचिवहरूसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र अन्य मन्त्रालयका सचिवहरूसँग शैक्षिक समस्या समाधानका लागि थप काम गरिने र वार्ता प्रक्रियाबाट निष्कर्षमा पुग्नेबारे चर्चा भएको बताइएको छ।

बैठकमा आर्थिक अवस्थाको विश्लेषण, विद्यालय शिक्षा ऐनको विकास प्रक्रिया र शिक्षकहरुको तत्काल पूरा गर्नुपर्ने मागबारे विचार गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र शिक्षकहरुको आन्दोलनलाई समाधान गर्न सरकारले विभिन्न कदम चाल्ने तयारी गरेको छ।

शिक्षकहरुले गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका छन् र शैक्षिक हडतालको घोषणा गरेका छन्। उनीहरुको मुख्य माग विद्यालय शिक्षा ऐनको शीघ्र कार्यान्वयन र विगतका सहमतिहरुको पालना हो।