काठमाण्डौ – काठमाण्डौ उपत्यकामा वायु प्रदूषण केही कम भएको छ। अघिल्ला दिनहरूको तुलनामा हिजो दिउँसो र राति हावाले केही बढी गति लिँदा प्रदूषणको स्तर घटेको हो।

तर, प्रदूषणमा केही सुधार आएको भए पनि काठमाण्डौ अझै पनि विश्वको सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा रहेको छ। हावाको गुणस्तर मापन गर्ने एक्यू एअर इन्डेक्सअनुसार, आज बिहान काठमाण्डौको एक्यूआई दुई सयभन्दा केही कम रहेको छ। एक्यूआईको मापदण्ड अनुसार, ५० भन्दा कमलाई स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर, र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।

मौसमविद्का अनुसार, प्रदूषण पूर्ण रूपले हट्नका लागि ठूलो हावा या वर्षा आवश्यक छ, तर हालको मौसममा यस्ता प्रणालीको विकास नदेखिएकोले प्रदूषणको स्तर कायम रहने संभावना छ। अर्को हप्ताको अन्त्यतिर भने, केही स्थानमा वर्षाको सम्भावना रहेको र यसले प्रदूषणमा सुधार ल्याउन सक्ने मौसमविद प्रतिभा मानन्धरले बताउनु भएको छ।

काठमाण्डौ उपत्यकासहित देशका शहरी क्षेत्रमा हरेक वर्ष हिउँदको सुरूवातमा वर्षा नपरेसम्म प्रदूषणको स्तर उच्च रहन्छ।