प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा शुभकामना व्यक्त गरेका छन् ।
नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको, राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको, सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको बताएका छन् ।






