दक्षिणी इजरायलमा रहेको एक अस्पताल नजिक इरानले गरेको मिसाइल आक्रमणबाट ठूलो क्षति भएको छ। इरानले इजरायली सेनाको कमाण्ड तथा गुप्तचर केन्द्रलाई लक्षित गरिएको दाबी गरे तापनि आक्रमणको प्रत्यक्ष प्रभाव अस्पतालमा परेको छ। तेल अभिभ नजिकैका दुई शहरमा समेत प्रहार गरिएको यस आक्रमणमा बीबीसीका अनुसार २७१ जना घाइते भएका छन्।
इरानको भनाइ अनुसार, हमला गरिएको क्षेत्र इजरायली सेनाको “सीफोरआई” कमाण्ड बेस र गाभ–याम टेक्नोलोजी पार्कभित्र रहेको आर्मी इन्टेलिजेन्स क्याम्प रहेको हो। तथापि, आक्रमणका लहरहरू अस्पताल नजिकै खस्दा सर्वसाधारण र स्वास्थ्यकर्मीहरू प्रभावित भएका छन्।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको आणविक पूर्वाधार पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यका साथ आक्रमण जारी राख्ने चेतावनी दिनुभएको छ। इरानका उपविदेशमन्त्रीले भने अमेरिकालाई यस लडाइँमा हस्तक्षेप नगर्न स्पष्ट सन्देश दिएका छन्, यो युद्ध अमेरिकाको नभएको उल्लेख गर्दै।
मध्यपूर्वको द्वन्द्व थप जटिल बन्दै गइरहेको बेला अस्पतालजस्ता मानवतावादी संरचनाहरूमा आक्रमण हुनु चिन्ताजनक संकेतको रूपमा हेरिएको छ।






