काठमाण्डौ – संयुक्त जनआन्दोलन समितिले आजका लागि तय गरिएको काठमाण्डौ उपत्यका बन्द कार्यक्रम स्थगित गरेको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा, आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूको रिहा भइसकेको भन्दै बन्द फिर्ता लिइएको उल्लेख छ।
यसअघि राजधानीमा प्रदर्शन गर्ने क्रममा केही नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो, जसको विरोधस्वरूप आज उपत्यका बन्द गर्ने निर्णय गरिएको थियो। तर अवस्था सहज भएपछि समितिले तत्कालका लागि उक्त कार्यक्रम रोक्ने निर्णय गरेको हो।
त्यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत बन्द कार्यक्रममा राप्रपाको कुनै संलग्नता नरहेको स्पष्ट पारिसक्नुभएको थियो। समितिको पछिल्लो निर्णयले आज जनजीवन सामान्य रुपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।






