गाजामा जारी द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा अघि सारिएको युद्धविराम योजनामा हमासले केही संशोधनसहित प्रतिक्रिया दिएको छ। बीबीसीका अनुसार हमासले १० जना जीवित र १८ जना मृत इजरायली बन्धकको सट्टामा निश्चित सङ्ख्यामा प्यालेस्टिनी कैदीहरू मुक्त गरिनुपर्ने प्रस्ताव अघि सारेको हो।
यस प्रस्तावसँगै हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता र मानवीय सहायता आपूर्तिको ग्यारेन्टी हुनुपर्ने अडान पुनः दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व प्रतिनिधि स्टीभ विटकोफले तयार पारेको मस्यौदामा हमासले आधिकारिक प्रतिक्रिया दिएको जनाइएको छ।
यता, विटकोफले भने हमासको प्रतिक्रियालाई अस्वीकार्य बताउँदै प्रस्तावमा सहमति जुटाउन अझ प्रयास आवश्यक रहेको संकेत गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले पनि विज्ञप्ति जारी गर्दै इजरायलले अद्यावधिक प्रस्ताव स्वीकार गरिसकेको भए पनि हमासले अझै सहमति जनाउन बाँकी रहेको जनाएको छ।
धेरैपटक आतङ्ककारी सूचीमा राखिएको हमासले आफ्नो अडानमा कुनै परिवर्तन नगरेको देखिएको छ। उसले गाजाबाट इजरायली फौजको पूर्ण फिर्ता र स्थायी युद्धविरामलाई मुख्य सर्तका रूपमा प्रस्तुत गरिरहेको छ।






