नेपाली फुटबलको प्रमुख पुरुष प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग आउँदो पुस महिनादेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को धुलिखेलमा सम्पन्न साधारण सभाले नयाँ फुटबल सिजनको क्यालेन्डर पारित गर्दै लिग पुस पहिलो सातादेखि सुरु गर्ने निर्णय गरेको हो। लिग २०८३ साल जेठ ३१ गतेसम्म सञ्चालन हुने छ।
यससँगै, पहिलोपटक आयोजना हुने महिला फ्रेन्चाइज लिग पनि मङ्सिर १५ गतेदेखि सुरु हुने तय भएको छ। एन्फाले सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार महिला फ्रेन्चाइज लिग माघ दोस्रो सातासम्म चल्नेछ।
महिला लिगमा विभिन्न डिभिजनका उत्कृष्ट आठ क्लबले प्रतिस्पर्धा गर्नेछन् भने प्रतियोगिता एन्फा आफैंले व्यवस्थापन गर्नेछ। यस लिगले नेपाली महिला फुटबलमा नयाँ अध्याय सुरू गर्ने अपेक्षा गरिएको छ।






