काठमाण्डौ — बहुपक्षीय प्रतिभाका धनी वामपन्थी नेता, पूर्वमन्त्री तथा लेखक प्रदीप नेपालको अन्तिम विदाई पशुपतिमा गरिएको छ। ७१ वर्षीय नेपालको पार्थिव शरीरलाई सोमबार साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो।

पार्किन्सन्स रोगबाट ग्रस्त नेता नेपालको निधन उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार दिउँसो भएको थियो। अन्त्येष्टिअघि एमाले, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले) लगायत विभिन्न वाम घटकका शीर्ष नेताहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

नेता नेपाल केवल राजनीतिज्ञ मात्र होइन, साहित्य, पत्रकारिता र विचारको संसारमा समेत सक्रिय चिनारी भएका व्यक्तित्व थिए। भोजपुरको गोगनेमा २०१० साल पुस २८ गते जन्मिएका उहाँ ‘नारी अनुहार’, ‘खुइते कडेरिया’, ‘नन्दीताल’ जस्ता दर्जनौँ कृतिका स्रष्टा थिए।

उहाँले भूमिगत राजनीतिक जीवनदेखि मन्त्री पदसम्मको यात्रामा जति संघर्षहरू भोग्नुपर्‍यो, त्यति नै साहित्यिक संसारमा जीवनका विविध अनुहारहरू उजागर गर्नुभयो।

राजनीतिमा शालीनता र संवादको अभ्यास गर्ने नेता नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य र खेलकुदजस्ता मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको थियो। २०८० चैतको अन्त्यतिर आयोजित साहित्यिक कार्यक्रममा सहभागी भएपछि स्वास्थ्य समस्या देखिएसँगै उहाँ सार्वजनिक जीवनमा कमै देखिन थालेका थिए।