इन्डियन प्रिमियर लिग (आईपीएल) को बहुप्रतीक्षित खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीचको भिडन्त वर्षाले अवरुद्ध बनाएको छ। खेलको निर्णय वर्षाले प्रभावित गरेपछि दुवै टोलीले एक–एक अंकमा सन्तोष मान्नुपर्यो।
राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोजेपछि दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। हैदराबादलाई १३४ रनको लक्ष्य दिइएको थियो, तर दोस्रो इनिङ सुरु नहुँदै वर्षाले मैदान खेल्न अयोग्य बनाएको हो।
नतिजा ननिस्कँदा दुवै टोलीले समान अंक बाँडेका छन्। यसपछि दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा पुगेको छ भने हैदराबाद ७ अङ्कसहित आठौं स्थानमा उक्लिएको छ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको रोचक भिडन्त तय गरिएको छ।






