काठमाण्डौं – कक्षा १२ को परीक्षा निर्धारित तालिकाअनुसार वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन हुने निश्चित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाबारे आपत्ति जनाउँदै विद्यार्थी, अभिभावक र सरोकारवाला सबैलाई अफवाहबाट जोगिन अनुरोध गरेको छ।
नेपाल शिक्षक महासंघको आन्दोलनका कारण पूर्वनिर्धारित वैशाख ११ बाट परीक्षा सारिएको भए पनि हाल सहमति कायम भएसँगै परीक्षा नियमित रूपमा सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।
बोर्डले आफूले कुनै फेसबुक पेज सञ्चालन नगरेको र परीक्षा सम्बन्धी सबै सूचना केवल आफ्नै आधिकारिक वेबसाइटमार्फत जारी गरिने स्पष्ट पारेको छ। साथै, परीक्षा मर्यादित तरिकाले सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बोर्डको भनाइ छ।






