काठमाडौँ — भारतको अहमदाबादस्थित चण्डोला ताल क्षेत्र वरपर बङ्गलादेशी नागरिकहरूको बसोबास रहेको बताइएका बस्तीमा भत्काउने अभियान तीव्र बनाइएको छ। बीबीसी हिन्दीका अनुसार, सियासत नगर र बङ्गाल वास क्षेत्रमा दर्जनौँ घरहरू तालमा माटो हालेर बनाइएको भन्दै स्थानीय प्रशासनले बुल्डोजर लगाएर हटाउने कार्य जारी राखेको हो।

भत्काउने अभियानलाई सुरक्षा दिनका लागि झन्डै २ हजार प्रहरी तैनाथ गरिएको छ भने ६ वटा डोजर प्रयोगमा ल्याइएको छ। मुस्लिम बहुल यो क्षेत्रमा धेरै घरहरू बङ्गलादेशी नागरिकहरूले बनाएको सरकारी रिपोर्टमा उल्लेख छ।

अवैध संरचना भनिएका ती घरहरू हटाउने काम रोक्न केही स्थानीयवासीले गुजरात उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले उनीहरूको निवेदन अस्वीकार गरिदिएको छ। प्रशासनका अनुसार, विगत चार दिनमा झन्डै १,७०० जनालाई नियन्त्रणमा लिइएको छ, जसमा केहीलाई पछि रिहा गरिएको बताइएको छ।

जम्मू–कश्मीरमा हालै भएको आतङ्कवादी हमलापछि देशव्यापी सुरक्षा सतर्कता बढाइएको छ, र यही क्रममा गुजरातमा पनि यस प्रकारको अभियान सुरू गरिएको बताइएको छ।