काठमाण्डौ – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधिमा आफ्नो वर्चस्व कायम राख्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने सफलता हासिल गरेको छ।

शनिबार दशरथ रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्‍याे। इमोह इजाकियल र पापा इबाउ केबेले ललितपुरका लागि निर्णायक गोल गरे। खेलको ४२औं मिनेटमा अग्रता बनाएको ललितपुरलाई ६३औं मिनेटमा पोखराका स्टेफन समिरले बराबरीमा ल्याए पनि, ७४औं मिनेटमा थपिएको गोलले ललितपुरलाई जितको खुसी दिलायो।

यस जितसँगै ललितपुरले अपराजित यात्रा कायम राख्दै ८० लाख रुपैयाँ पुरस्कार हात पार्‍यो। पहिलो पटक फाइनल खेलेको पोखराले ३० लाख रुपैयाँमा सन्तोष मान्नु पर्‍याे।

तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए, तर उपाधिको चमक फेरि पनि ललितपुरकै नाममा लेखियो।