काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ। शहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनःस्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिनेछन्।

यसबाट सुरक्षित शहर निर्माणमा योगदान पुग्नेछ। विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘शहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै शहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिनेछ।’

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजकहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्दै विभागका निमित्त प्रमुख गंगाधर गौतमले विद्यमान अवस्थाको विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमाको अवधारणाका विषयमा जानकारी गराए।