कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन्।

बिहीवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गरेका हुन्। उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए। उनले सहकारीमा समस्या आए पनि समाधानका लागि राज्यले लिएको कार्यशैली गलत भएको स्पष्ट पारे।

कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे। सहकारीको नियमन गर्न बसेका निकायहरूले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिने राम्रो नभएको उनको भनाइ छ।

उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए। उनले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारी समस्यामा परेको बताए। उनले विधि, पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने माग गरे।

जुनसुकै हिसाबमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा जोड दिए। उनले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राखे। उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए।

सहकारीबाट ऋण लाने मान्छे प्राडो कार चढेर शहरमा हिँड्छ। ऋण दिने मानिस जेल गएर बसेको छ। जसले ऋण दियो ऊ जेलमा छ। विधि पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्छ। आम जनताबाट संकलन गरेको रकमबाट ऋण पाएको हो। त्यो ऋण तिर्नुपर्छ। समयमा ऋण तिर्नुस् तिर्नुभएन भने साँवा ब्याज र हर्जानासहित तिर्नुपर्छ। नतिरे बैंकले जसरी कारबाही गर्छ भनेको भए अहिलेको स्थिति आउने थिएन।’

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीमा बढ्दै गएको कुशासन र अपारदर्शिता हटाउन प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताइन्।