समयमा एउटै संकल्प लिएर दैनिक रूपमा ध्यान र रुद्रिपाठका कार्यक्रम सम्पन्न हुँदै आएका छन्। यसका लागि फाउन्डेसनले नै ९० वटै गुरुकुलमा ध्यानशिक्षक पठाएको छ। रुद्रिपाठ गुरुकुलका विद्यार्थीले गर्दै आएका छन्। यसरी रुद्रिपाठमा लगाउने गुरुकुललाई यज्ञदक्षिणाका रुपमा फाउन्डेसनले आर्थिक सहयोग गर्दै आइरहेको छ।
‘हामीले ९० वटा गुरुकुलमा एकै समयमा एउटै संकल्प लिएर रुद्राभिषेक गराउँदै आएका छौँ,’ फाउन्डेसनले गुरुकुललाई गर्दै आएको सहयोगका विषयमा प्रकाश पार्दै बास्कोटाले भने, ‘संसारको जुनसुकै कुनामा रहेका हाम्रा यजमानबाट हामीलाई सहयोग प्राप्त हुन्छ। त्यसलाई नै हामीले व्यवस्थापन गरेर गुरुकुलमा पठाउँदै आएका छौँ।’ यसरी आएको रकम समाज कल्याण परिषदको स्वीकृतिमा हुने गरेको छ। यसले वेदको ज्ञान विस्तार गर्न पनि सहयोग पुगेको अनुभव आफूहरूले गरिरहेको उनले सुनाए।
फाउन्डेसनले ध्यानशिक्षकहरू पनि तयार पार्दै आएको छ। हरेक शुक्रबारदेखि ४ दिने आवासीय ध्यानकक्षा सञ्चालन हुँदै आएका छन्। ध्यानशिक्षक बन्नका लागि भने कम्तीमा ६ महिना आवासीय कक्षा लिनुपर्छ। यसरी उत्पादन भएका ध्यानशिक्षकले देशका विभिन्न स्थानमा पुगेर ध्यानकक्षा सञ्चालन गरी स्वस्थ समाज निर्माणका लागि योगदान गरिरहेको बास्कोटा बताउँछन्।
अमेरिकाको महर्षि इन्टरनेसनल युनिभर्सिटीले सञ्चालन गर्ने एकेडेमिक कोर्स सञ्चालनका लागि पनि फाउन्डेसनले सहयोग गर्दै आएको छ। यो विश्वविद्यालयका धेरै कोर्स निशुल्क हुने भएपनि केही कोर्ष सशुल्क हुने गरेका छन्। ‘विश्वविद्यालयले विभिन्न विषयमा विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनलाइन प्रणालीमा कक्षा हुने विषयमा नेपालमा नै बसीबसी विद्यार्थीले अमेरिकी डिग्री लिन सक्छन्,’ बास्कोटाले भने।
बास्कोटा यतिबेला अध्यात्ममा चिनिएपनि उनको अर्को पनि खासियत छ- सहकारी। राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष रहेका बास्कोटा २०४८ सालमा आएको सहकारी ऐनको मस्यौदा बनाउन भरपूर खटेका थिए। त्यही बेलादेखि सार्वजनिक, निजी र सहकारीको तीनखम्बे अर्थनीति नेपालले अंगीकार गरेको थियो। सहकारी ऐन बनाउन उनले गरेको योगदानको कदर हालसम्म पनि हुँदै आएको छ।
आजको ठूलो समस्यामा रूपमा रहेको सहकारी अपचलनको गुदी केलाउनेहरू बास्कोटाका कामसम्म पुग्नै पर्ने हुन्छ। केही समयअघि सांसद सूर्य थापाको संयोजकत्वमा बनेको सहकारीको रकम अपचलनसम्बन्धी छानबिन समितिले पनि बास्कोटासँग सुझाव मागेको थियो। राजनीतिलाई विश्राम दिएपनि आवश्यक पर्दा उनले देशको राजनीति र अर्थनीति निर्माण तथा निर्णय प्रक्रियामा भूमिका खेल्दै आएका छन्। उनको सोही भूमिकालाई कदर गर्दै विभिन्न स्थानका सहकारीलगायतका संस्थाहरूले बेलाबेालमा सम्मान पनि गर्दै आएका छन्।
बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ प्रकाशित छ। आफ्नो पुस्तकलाई उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामा समर्पण गरेका छन्। निष्ठाको यात्रामा हिँडदै गर्दा कुनै पनि काम असंभव नहुने आफ्नो मान्यतालाई उनले पुस्तकमा समावेश गरेका छन्। बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्दै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको र पश्चिमी जगतसमेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्थापित गर्ने विश्वास आफूमा रहेको विचार व्यक्त गरेका छन्।






