बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

उनका अनुसार गिरीलाई ३ लाख जरिवाना तिराउन पनि फैसला भएको छ।

उक्त रकम अपराध पीडित संरक्षण ऐन अन्तर्गत कोषमा जम्मा गरिने सूचना अधिकारी बास्कोटाले बताए। त्यही कोषमार्फत पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए।

जेठ १३ गते भुसालको इजलासले निलम्बित न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि सोमबार पेशी तोकिएको थियो।