इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ।

मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो।

इतिहासकार नेपालका भाइ एकमणि नेपालका अनुसार पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ। इतिहासकार नेपालका दुईजना छोरा छन्।

काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गरेका छन्।

नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवं साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिए।