निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरूले खुला छत वा ‘रूफटप’ सवारी साधन प्रयोग गर्न नपाउने भएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा जोखिमका कारण यस्ता सवारी साधन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, देशभर उम्मेदवारहरूले खुला छतबाट मत माग्ने चलन बढेसँगै सुरक्षा चुनौतीहरू बढेको भन्दै यो कदम चालिएको छ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने गरी सुरक्षा तयारी समीक्षा गरिएको छ। तयारी सन्तोषजनक रहे पनि थप मजबुत बनाउन निर्देशन दिइएको छ।
समितिले जिल्लास्तरमा दैनिक सुरक्षा बैठक, संयुक्त गस्ती बढाउने, कर्मचारी परिचालनमा निष्पक्षता कायम राख्ने तथा दण्डहीनता रोक्नेमा जोड दिएको छ। यो निर्णयले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउने अपेक्षा गरिएको छ।






