प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सरकारले नेपालको इतिहासमै सबैभन्दा महत्वाकांक्षी खेलकुद विकास योजना प्रस्तुत गरेको छ। सरकारले खेलकुदलाई राष्ट्रिय एकता, मानव विकास, राष्ट्रिय गौरव र आर्थिक समृद्धिको आधारस्तम्भको रूपमा विकास गर्ने घोषणा गरेको हो।

यो योजनाअनुसार देशभरका सबै अधुरा रंगशाला तोकिएको समयमा पूरा गरिनेछ र सातै प्रदेशमा आधुनिक तथा पूर्ण रूपमा पहुँचयोग्य खेल पूर्वाधार निर्माण गरिनेछ। खेल प्रशासनमा राजनीतिक नियुक्ति पूर्ण रूपमा खारेज गरी व्यावसायिक नेतृत्व र पारदर्शी बजेट व्यवस्थापन लागू गरिनेछ।

स्कूल तहबाटै खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंग बनाइने, प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ। खेलकुदलाई पूर्ण पेसाको रूपमा विकास गरी नियमित लिग, उचित तलब र समयमै पुरस्कार राशि उपलब्ध गराइने छ जसले खेलाडीहरूलाई आर्थिक अभावका कारण करियर छोड्न नपरोस्।

नेपालको प्राकृतिक विशेषता जस्तै एडभेन्चर स्पोर्ट्स, अल्ट्रा म्याराथन र हिमाली कार्यक्रमहरूलाई राष्ट्रिय सम्पत्तिको रूपमा प्रवर्द्धन गरिनेछ। निजी लगानीलाई प्रोत्साहन दिइने र नेपाललाई एडभेन्चर स्पोर्ट्सको गन्तव्य तथा दक्षिण एसियाको खेलकुद हब बनाइने छ। द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरी खेल पर्यटनलाई बढावा दिइनेछ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गरिनेछ र क्रिकेट कूटनीतिलाई सॉफ्ट पावरको रूपमा प्रयोग गरी नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्ने र कूटनीतिक सम्बन्ध विस्तार गरिनेछ। महिला तथा समावेशी खेलकुदलाई विशेष प्रोत्साहन दिइनेछ भने प्रशिक्षण तथा तालिम प्रणालीलाई वैज्ञानिक, प्राविधिक र नतिजामुखी बनाइने छ।

यो योजनाले नेपालको खेलकुद क्षेत्रलाई पूर्ण रूपान्तरण गर्ने लक्ष्य राखेको छ। कार्यान्वयन कत्तिको व्यावहारिक हुन्छ भन्ने विषयमा भने बहस सुरु भएको छ।