विश्व बैंकले हालै सार्वजनिक गरेको एक गहिरो अध्ययनमा दोहोरिँदो द्वन्द्व र अस्थिरता विश्वव्यापी गरिबीलाई झनै गहिरो बनाउँदै लगेको चेतावनी दिएको छ। सन् २००० पछिको दुई दशकमा द्वन्द्वजन्य क्षति तीनगुना बढेको विवरण दिँदै, प्रतिवेदनले द्वन्द्वग्रस्त राष्ट्रहरूमा खाद्य अभाव र चरम गरिबीको चपेटामा करोडौं मानिस फसेको उल्लेख गरेको छ।
२०२५ को सुरुवातमै ४२ करोडभन्दा बढी मानिस दिनको ३ अमेरिकी डलरभन्दा कम आम्दानीमा जीवन धान्न बाध्य छन्, जुन ‘चरम गरिबी’ को दायरा भित्र पर्छ। यदि यही अवस्था कायम रह्यो भने, सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने प्रक्षेपण गरिएको छ।
विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिलका अनुसार युक्रेन र मध्यपूर्वका द्वन्द्वप्रति विश्वको ध्यान केन्द्रित भए पनि, अरु कैयौं राष्ट्र दशकौंदेखि अशान्त छन्। हाल ३९ देशलाई द्वन्द्व प्रभावित सूचीमा राखिएको छ, जसमा गाजा, दक्षिण सुडान, सोमालिया, इराकलगायतका देश छन्।
प्रतिवेदनले द्वन्द्व सुरु हुनुअघि नै रोकथामको तयारी गर्न सके, त्यसले ठूलो जनधनको क्षति बचाउन सकिने र गरिबीको चक्र तोड्न सकिने उल्लेख गरेको छ।






