काठमाण्डौ – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागमती प्रदेशले उत्तीर्ण विद्यार्थीको संख्यामा अग्रता लिएको छ भने कर्णाली प्रदेश पछाडि परेको छ। बागमतीबाट १ लाख १९ हजार ५१७ विद्यार्थी उत्तीर्ण भएका छन्, जुन देशमै सबैभन्दा बढी हो। कर्णालीमा भने यो संख्या ४६ हजार ४५५ मा सीमित छ। अन्य प्रदेशहरूको नतिजा पनि फरक-फरक देखिएको छ – लुम्बिनी ९७ हजार ६८७, मधेस ५९ हजार ७४९, सुदूरपश्चिम ५९ हजार ८०४, गण्डकी ४७ हजार ८४९ र कोशीमा ४७ हजार ८३५ विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षाफलमा समग्रतामा सुधार देखिए पनि गणित विषय भने अझै धेरै विद्यार्थीका लागि चुनौतीपूर्ण बिषय बनेको देखिन्छ। एक्लो गणितमा मात्रै १ लाख २८ हजार २१८ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। यस्तै, अङ्ग्रेजीमा ८० हजार ६७२, विज्ञानमा ७९ हजार २७१, नेपालीमा ५४ हजार ७३५ र सामाजिकमा ५३ हजार १८६ विद्यार्थी ग्रेडविहीन भएका छन्। ऐच्छिक विषयहरूमा पनि सुधारको खाँचो देखिन्छ, ऐच्छिक गणितमा १८ हजार २२२ र अर्थशास्त्रमा १२ हजार १५० जना ननग्रेडेडमा परेका छन्।