काठमाण्डौ – काठमाण्डौ उपत्यकाको अत्यन्तै व्यस्त क्षेत्र ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको नेपालको पहिलो फ्लाईओभर आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो उक्त ओभरपासको उद्घाटन गर्दै सडक आवागमनका हिसाबले महत्वपूर्ण मानिने यस संरचनाको औपचारिक सुरुवात गर्नुभएको हो। लामो समयसम्मको पर्खाइ, म्याद थप र निर्माण अवरोधहरूमाथि पार पाउँदै अन्ततः फ्लाईओभरले पूर्णता पाएको हो।

२०७८ साल फागुनमा सुरु गरिएको यो आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो। तर विभिन्न प्राविधिक र प्रशासनिक कारणले निर्माण ढिलो हुँदा अन्ततः २०८१ साल पुसमा मात्र निर्माण सकिएको हो। निर्माण ढिलाइका कारण निर्माण कम्पनीलाई १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिर्नु परेको छ भने प्रारम्भिक लागतभन्दा १४ करोड रुपैयाँ बढी खर्चिएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले दिएको छ।

यात्रु तथा चालकहरूका लागि लामो समयदेखि सास्तीको विषय बनेको ग्वार्को चोक अब भने ट्राफिक जाममुक्त हुने अपेक्षा गरिएको छ। उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न यस्ता पूर्वाधार विकास अपरिहार्य बन्दै गएको भन्दै ट्राफिक प्रहरी कार्यालयले अन्य मुख्य चोकहरूमा पनि फ्लाईओभर र अन्डरपासको योजना अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।

यो ओभरपासले ट्राफिक समस्या समाधानका साथै भौतिक पूर्वाधार विकासतर्फको सरकारी प्रतिवद्धता र प्रभावकारी कार्यान्वयनको सकारात्मक उदाहरण दिन सक्छ।