वेस्ट इन्डिजका स्टार विकेटकिपर ब्याट्सम्यान निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत अप्रत्याशित रूपमा उनले यो निर्णय सार्वजनिक गरेका हुन्।

२९ वर्षीय पुरनले आफ्नो करिअरमा वेस्ट इन्डिजका लागि ६१ एकदिवसीय र १०६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा दुई हजार दुई सय ७५ रन बनाएका उनले यो फर्म्याटमा सबैभन्दा धेरै खेल्ने वेस्ट इन्डिज खेलाडीका रूपमा कीर्तिमान राखेका छन्।

एकदिवसीय क्रिकेटमा उनले एक हजार नौ सय ८३ रन बनाएका थिए। सन् २०१६ मा पाकिस्तानविरुद्ध टी–२० डेब्यू गरेका पुरनले २०१९ मा इंग्ल्याण्डविरुद्ध एकदिवसीय यात्रा सुरु गरेका थिए। पछिल्लो समय उनी फ्रेन्चाइज लिगमा बढी सक्रिय रहेकाले राष्ट्रिय टोलीका महत्त्वपूर्ण प्रतियोगितामा मात्र सहभागी हुँदै आएका थिए।