क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले लस एन्जलसमा संघीय अनुमति बिना नेशनल गार्ड खटाइएको भन्दै ट्रम्प प्रशासनविरुद्ध कानुनी कारबाहीको चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत न्यूजमले राष्ट्रपति ट्रम्पले “जे चाहन्थे, त्यही भइरहेको छ” भन्दै आक्रोश पोखेका हुन्।

उनले नेशनल गार्डको तैनाथीलाई संविधानविपरीतको कदम भन्दै यस विषयमा अदालत धाउने घोषणा गरेका छन्। शनिबार इमिग्रेशन र सीमा सुरक्षाविरोधी प्रदर्शन भइरहेका बेला ट्रम्प प्रशासनले राज्य सरकारको असहमति हुँदाहुँदै करिब २०० जना नेशनल गार्ड तैनाथ गरेको थियो।

यसै क्रममा अमेरिकी रक्षा मन्त्रालयका अधिकारी पीट हेगसेथले सम्भावित झडपको स्थिति देखेर मरीन फोर्सलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।