अमेरिकाको अध्यागमन कानुन उल्लङ्घन गरेका ३७ जना नेपाली नागरिक चार्टर्ड विमानमार्फत गएराति काठमाडौँ आइपुगेका छन्। उनीहरूमा ३२ पुरुष र ५ महिला रहेका छन्। अमेरिकी सरकारको निर्णयअनुसार निष्कासनमा परेका यी व्यक्तिहरूले एशिया, युरोप र अफ्रिकाका विभिन्न मार्ग हुँदै अमेरिका पुग्ने क्रममा मानव तस्करीमा संलग्न समूहलाई ठुलो रकम बुझाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। केहीले वैध कागजात बिना उतै बसोबास गरिरहेका थिए भने कोही भिसाको म्याद नाघेर बसेका थिए। अध्यागमन विभागका अनुसार उनीहरूलाई सोधपुछपछि घर पठाउने प्रक्रिया अघि बढाइएको छ।






