काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पुनः घरेलु टोली स्कटल्यान्डसँग भिड्न लागेको छ। खेल डुन्डेको फोर्थहिल मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।
शृङ्खलाको प्रारम्भमा दुई लगातार जित निकाल्दै उत्साहित बनेको नेपाल आजको खेलमा पनि जितको लयलाई निरन्तरता दिने सोचमा छ। पहिलो खेलमै स्कटल्यान्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
नेपाल र स्कटल्यान्डबीच भएको अघिल्ला नौ एकदिवसीय खेलमध्ये नेपालले पाँच खेल जितेको छ भने तीन खेल स्कटल्यान्डले जितेको छ। एक खेल वर्षाले प्रभावित भई नतिजाविहीन भएको थियो।
यो शृङ्खला सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रक्रियासँग समेत जोडिएको हुँदा प्रत्येक खेल नेपाली टोलीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। हालसम्म १४ खेलमा १० अंक जोडेको नेपाल सातौं स्थानमा रहेको छ भने स्कटल्यान्ड १८ खेलमा २२ अंकसहित चौथो स्थानमा छ।
नेपालले अबको खेल पर्सि नेदरल्यान्ड्ससँग खेल्नेछ। लिगको अन्त्यसम्म शीर्ष चार टोली ग्लोबल छनोटमा पुग्नेछन् भने पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। यस्तो अवस्थामा हरेक जितले नेपाललाई विश्वकप नजिक पुर्याउने सम्भावना बढाउँदै लगेको छ।






